×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

साझा उम्मेद्वार छान्‍न बसेको पौडेल समूहको बैठक निष्कर्षविहीन, आंकाक्षीहरुले छोडेनन् आफ्नो दाबी

साझा उम्मेद्वार छान्‍न बसेको पौडेल समूहको बैठक निष्कर्षविहीन, आंकाक्षीहरुले छोडेनन् आफ्नो दाबी

नेपाली कांग्रेस संस्थापनइतर समूहले पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेद्वार चयन गर्न बोलाएको बैठक निष्कर्षविहीन टुंगिएको छ । संस्थापनतर्फबाट सभापति देउवाले उम्मेद्वारी दिने घोषणा गरेपछि देउवालाई परास्त गर्न साझा उम्मेद्वार बनाउनुपर्नेमा पौडेल समूह एकमत भए पनि कसलाई साझा उम्मेद्वार बनाउने भन्‍ने विषयमा भने एकमत हुन सकेको छैन । 

पौडेल समूहका आठजनाले सभापतिमा दाबी गरेका छन् । जसमध्ये सभापतिमा दाबी गरेका युवा नेता कल्याण गुरुङलाई भने बैठकमा बोलाइएको थिएन । शुक्रबार बसेको बैठकले विभिन्‍न हाँगामा छरिएका रहेका संस्थापनइतर गुटहरुबीच एकता कायम गर्ने सहमति भएको सभापतिका आकांक्षी अर्जुननरसिंह केसीले जानकारी दिएका छन् ।

नेताहरुले आ-आफ्नो उम्मेद्वारीको अडान कायम राख्‍दा कसलाई सभापति बनाउने भन्‍ने विषयको टुंगो लगाउन सकस भएको बताइएको छ । पौडेल समूहको बिहीबारको बैठक पनि निष्कर्षविहीन भएको थियो । 

बैठकमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसीलगायतको सहभागिता  थियो ।

पौडेल समूहले आफ्नो समूहका सभापतिका आकांक्षी बोलाएको बताए पनि गुरुङलाई भने बोलाइएको थिएन ।

सभापतिका आकांक्षी नेतृ सुजाता कोइरालाले भने सहमतिमै उम्मेद्वार हुने दाबी गरेकी छन् । उनले भनिन्, "मैले आफ्नो कुरा राखे । अरुको कुरापनि सुन्यौं । जो भएपनि एकजना उम्मेदवार हुन्छ । सहमति हुनेमा शंका छैन । हार्दिकतासाथ छलफल भयको छ ।"

प्रतिकृया दिनुहोस्