काठमाडौँ- नेपाली कांग्रेस वर्तमान सरकार ढाल्ने चलखेलमा लागेको छ । गत मंसिर ४ गते पछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न अनेक प्रयत्न गरेको हो ।
यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिपक्षी दल भएका कारण कांग्रेससँग जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता रहनुपर्ने बताए । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस प्रतिपक्षकै भूमिका रहे पनि अवस्था हेरेर सरकार ढाल्ने र बनाउने क्षमता राख्ने दावी गरेका हुन् ।
‘ कांग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले जुनसुकै बेला सरकार गिराउने र बनाउने क्षमता राख्छ । हामी प्रतिपक्षमा छौं। प्रतिपक्षकै भूमिका हामी खेल्छौं र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो। हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनु पर्छ। विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको।’, डा. कोइरालाले भने ।
कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताएका छन् । ‘राष्ट्रपतिको चुनावमा सहमतिबाट जाने सम्भावना त बहुतै कम देख्छु। तर, कांग्रेसले उम्मेदवारी दिन्छ।’, उनले भने ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाली कांग्रेसले सरकार ढाल्न अनेक चलखेल गरिरहेको बताएका छन् । बुधबार नै काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । नेपाली कांग्रेसले सरकार ढाल्ने प्रयास गरे पनि सफल नहुने उनको भनाइ छ ।