×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भिजिट भिसा प्रकरण: गृहमन्त्री लेखकको राजीनामा दिन रास्वपाको माग

भिजिट भिसा प्रकरण: गृहमन्त्री लेखकको राजीनामा दिन रास्वपाको माग

काठमाडौं - स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले हालै 'भिजिट भिसा' को आवरणमा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनको सचिवालयको संलग्नता सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले गृहमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, "स्वयं गृहमन्त्री लेखकले विगतमा सदनमा 'प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ' भनी विभिन्न दृष्टान्तसहित दिएको अभिव्यक्तिको स्मरण गराउँदै, उहाँलाई यथाशीघ्र पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ।"


साथै, यस विषयलाई लिएर आगामी दिनमा सदन अवरुद्ध भएमा त्यसले नेपाली राजनीतिप्रति नकारात्मक सन्देश प्रवाह गर्ने भन्दै त्यस्तो अवस्था आउन नदिन सरकारलाई सचेत गराइएको छ।


विज्ञप्तिमा पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतको हालैको आदेशबारे पनि उल्लेख गरिएको छ। सर्वोच्च अदालतले शुक्रबार तुलसीपुर उच्च अदालतको आदेश सदर गरेसँगै रास्वपाले उक्त निर्णयलाई कानुनी रूपमा स्वीकार गर्ने बताएको छ।


यद्यपि, सहकारी मुद्दामा रवि लामिछानेको भूमिकालाई तथ्यहीन र जबर्जस्ती ढंगले जोडिएको पार्टीको आशंका छ। "सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नहरूलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेर्नुपर्ने मुद्दालाई जबर्जस्ती सहकारीसँग जोडेर निर्णय गरियो कि भन्ने हाम्रो आशंका छ," विज्ञप्तिमा उल्लेख छ, "राजनीतिक प्रतिशोध र राज्यबाट अनावश्यक पीडा दिइँदा अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नहोस् भन्ने हाम्रो चिन्ता हो।"


यसैबीच, रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक शनिबार अपराह्न ४ बजे सम्पन्न भएको र अर्को बैठक जेठ ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्