×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माधव नेपालको गृहजिल्लामा भएन गठबन्धन

माधव नेपालको गृहजिल्लामा भएन गठबन्धन

काठमाडाैँ- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा गठबन्धन हुन सकेन । रौतहटमा सत्तागठबन्धनबीच चुनावी तालमेल हुन नसकेको हो । 

भागबन्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ,नेकपा एकीकृत समाजवादी र जसपाले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । सोमबार अन्तिम समयसम्म भागबन्डा नमिलेपछि गठबन्धन असफल भएको थियो । माधवकुमार नेपालले रौतहटका तीनदेखि चार पालिकामा प्रमुखका उम्मेदवारको दाबी गरेका थिए ।

तर कुनै पनि पालिकामा गठबन्धन नभएका कारण सोमबार एक्ला एक्लै मनोनयन दर्ता गराएको नेकपा माओवादी रौतहटका इन्चार्ज युवराज भट्टराईले बताए । रौतहट जिल्लाभरिमा जसपा र माओवादीबीच रौतहटको कटहरिया नगरपालिकामा मात्र गठबन्धन भएको थियो ।

माधवकुमार नेपालको गृहनगर गौर नगरपालिकामा एकीकृत समाजवादी एक्लैले मनोनयन दर्ता गरेको छ । सो पार्टीका शम्भु साहले उम्मेदवारी दर्ता गराएका छन्। नेपालनिकट मानिने साहले यसअघिको स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान हासिल गरेका थिए ।

यस्तै एकीकृत समाजवादी पार्टीबाट जिल्लाकै ठूलो नगरपालिका चन्द्रपुरमा समेत बाबुराम दाहालको एकल टिमले मनोनयन दर्ता गराएको छ । जिल्ला तहमा गठबन्धनको प्रयास भएको भए पनि हुन नसकेपछि सत्तामा रहेका गठबन्धन दलले रौतहटमा एक्ला एक्लै मनोनयन दर्ता गराएका हुन् । –नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्