पोखरा- पैसाका लागि महिलाहरूलाई जबरजस्ती यौन पेसामा लगाएको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा ६ शान्तिनगरस्थित ए वान रेस्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
खाजा/नास्ता बनाउने र ग्राहकको घरमा पुर्याउने काममा लगाइदिने भनेर यौन शोषणमा लगाएको आरोपमा सञ्चालक अस्मिता राई पक्राउ परेकी हुन् । उनले पहिलेदेखि नै यस्तो काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन दिन म्याद थप गरी अनुसन्धान सुरु भएको छ । पीडित महिलाहरूलाई मनोपरामर्श दिएर परिवारको जिम्मामा छाडिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।