काठमाडौं - चारदेशीय टि-२० आई सिरिज अन्तर्गत आयरल्यान्डसँग पराजित भएपनि खेलको प्लेयर अफ द म्याच नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी चुनिएका छन् । नेपाल आयरल्यान्डसँग १६ रनको झिनो रनले पराजित भएको थियो । तर दीपेन्द्रले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपनि एकल प्रयासमा नेपाललाई जिताउन सकेनन् ।
दीपेन्द्र हारको बाबजुद पनि प्लेयर अफ द म्याच चुनिएका छन् । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्ड २० ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो । टेस्ट टोली आयरल्यान्डलाई सस्तैमा अल आउट गर्न दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर मध्यक्रमका प्रमुख ४ विकेट लिएका थिए ।
१ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३० बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । दीपेन्द्रको एकल प्रदर्शनले इतिहास भने रचनाउन सकेनन् । यस खेलमा नेपाल विजयी भएको भए इतिहासमा पहिलो पटक नेपालले टेस्ट टोलीलाई हराउन सफल हुने थियो ।
नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदा पनि दीपेन्द्र खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । उक्त खेलमा दीपेन्द्रको उत्कृष्ट ब्याटिङको सहयोगमा १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपाललाई जिताउन दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अविजित विजयी इनिङ खेले ।