काठमाडौँ - केही समययता काठमाडौं उपत्यकासहितका सहरहरूमा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित अस्पताल आउनेको संख्या बढेको विभिन्न अस्पतालको तथ्यांक छ ।
मौसम परिवर्तनको समय भएकाले भाइरल इन्फ्लुएन्जाका ‘केस’हरू बढेको बताइन्छ । देशका अधिकांश भागहरूमा अहिले भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्
इन्फ्लुएन्जाका अधिकांश लक्षणहरू कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले यी दुई संक्रमण छुट्ट्याउन परीक्षण नै गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देकशक डा. रुना झा बताउँछिन् ।
कसरी चिन्ने कोभिड संक्रमण र भाइरल रुघाखोकी ?
भाइरल रुघाखोकी ३० भन्दा बढी कारणले देखिन सक्ने विशेषज्ञहरू बताउँछन् । अहिले नेपालमा देखिइरहेको रुघाखोकी र ज्वरोको मुख्य कारण कोभिड संक्रमण नै भएको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् । कोभिडपछि इन्फ्लुएन्जा अहिले आम समस्याको रूपमा देखिएको उनको भनाइ छ ।
“सामान्यतया यस्ताखाले भाइरल रुघाखोकी, इन्फ्लुएन्जालगायतले गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या ननिम्त्याउने भएकाले नेपालमा यसलाई सामान्य रूपमा लिने गरिएको छ । यस्ताखाले समस्या आफैँ निको भएर जाने भएकाले परीक्षण पनि कम हुने गरेको छ । तर, कहिलेकाहीँ भाइरल रुघाखोकी भनेर परीक्षण नगराइ बस्दा दुई हप्तापछि पनि गम्भीर समस्या देखिन सक्छ । पहिलो र दोस्रो लहरको कोभिड संक्रमणमा नेपालमा यस्तै अवस्था देखिएको थियो । त्यसैले ज्वरो आएको वा कोभिडसँग मिल्दोजुल्ल्दो लक्षण देखिएको तीन दिनसम्म पनि निको नभएमा कोभिड परीक्षण अवश्य गराउनुपर्छ । ताकि, एकैपटक गम्भीर समस्या नदेखियोस्,” डा. सुवेदी भन्छन् ।
अहिले देखिएको भाइरल रुघाखोकी र ज्वरो कोभिड संक्रमण हो वा होइन भनेर घरमै बसेर पत्ता लगाउन नसकिने उनलेले बताए । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएर तीन दिनभन्दा बढी बिरामी भएमा पीसीआर परीक्षण गराउन डा. सुवेदीको सुझाव छ