विराटनगर- प्रदेश १ मा राष्ट्रिय सभाको लागि मतदान जारी छ । बिहान ९ बजेदेखि शुरु भएको मतदान प्रक्रिया अन्तिम अवस्थामा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । योे समाचार तयार पार्दासम्म ९२ जना प्रदेश सभा सदस्य मतदाता रहेकोमा ८९ जनाले मतदान गरिसकेका छन् ।
१३७ स्थानीय तहका प्रमुख र उपप्रमुख मध्ये २ जनाको रिक्त रहेकोले २७२ जना मतदाता मध्ये ५ जनाले मतदान गर्न बाँकी रहेको छ । २६७ जना स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरिसकेका छन् । प्रदेश १ मा नेकपा एमाले, राप्रपासहित गठबन्धन चुनावी प्रतिस्पर्धामा छन् ।
चुनावी प्रतिस्पर्धामा रहेकाहरु गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल बस्नेत खुला सदस्य, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई, अल्पसंख्यक तथा अपांगबाट जनता समाजवादीका हेमराज राई रहेका छन् । नेकपा एमालेको खुलामा गुरुप्रसाद बराल, महिलामा सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा अल्पसंख्यक तथा अपांगबाट प्रतिस्पर्धामा छन् । राप्रपाले खुलामा अमर बिष्ट र रन्जु प्याकुरेललाई महिला तर्फबाट राष्ट्रिय सभा सदस्यमा प्रतिस्पर्धा गराएको छ ।
यसैबीच मतदान गरेर फर्किएका प्रदेश सभा सदस्य ओमप्रकाश सराबगी अकस्मात सडकमा ढलेपछि अस्पताल लगिएको थियो । सडकमा नै ढलेपछि उनलाई नजिकै रहेको न्युरो अस्पताल लगिएकोमा सामान्य चेकजाँच पछि घर फर्काईएको सांसद शेखरचन्द्र थापाले जानकारी दिए । अस्पताल लगिएका सगाबगीलाई चिकित्सकले ब्लड प्रेसर लो भएको कारण उपचार पछि घर फकाइएसकेको सांसद थापाले बताए ।