काठमाडौँ- नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको सचिवालय बैठकले चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो ।
चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय बैठकले गरेको छ । ‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको हामी कडा प्रतिवाद गर्छौं । एमालेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘सबै कमिटीहरुलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि दिएका छौं ।’
कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न जिल्ला, पालिका र वडा कमिटीलाई निर्देशन दिइएको पनि गुरुङले बताए । उनका अनुसार उम्मेदवारको सूचीमा रहेकाहरूलाई प्रदेशसभा र संघको बन्दसूचीबाट हटाउने निर्णय समेत गरेको छ ।