काठमाडौं - आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गरेका छन् । बालुवाटारमा आयोजित विशेष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गरेका हुन् ।
हरेक निर्वाचन क्षेत्रमा एक–एकवटा सडकको दरले शिलान्यास भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।
सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । सरकारले प्रत्येक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।