काठमाडौं- नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेको छ। उनलाई पार्टी सदस्यसमेत नरहने गरी एक वर्षका लागि निष्कासन गरिएको हो।
पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार लुम्बिनी प्रदेश कार्यसमितिलाई पत्र पठाउँदै कारबाहीबारे जानकारी गराएका हुन्।
२०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खनालमाथि कारबाही गरिएको हो। कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले खनालले चुनावमा असहयोग गरेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए।
अनुशासन समितिले पठाएको पत्रमा भनिएको छ, “प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा स्पष्टीकरण सोधिएकोमा निजले दिएको जवाफ चित्तबुझ्दो नभएकाले कारबाही गरिएको हो।”
नवलपरासीको बर्दघाट नगरपालिका–१० निवासी खनाल पार्टीभित्र नेता डा. शेखर कोइराला समूह निकट मानिन्छन्। यही विषयलाई लिएर यसअघि बसेको केन्द्रीय समिति बैठकमा नेता कोइराला र सांसद चौधरीबीच चर्काचर्कीसमेत परेको थियो।