×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोरी भएको छिन्‍नमस्ताको मुकुटसहित पक्राउ

चोरी भएको छिन्‍नमस्ताको मुकुटसहित पक्राउ

सप्तरी, छिन्‍नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्‍नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका-५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति करिब ७:०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए । मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीन पुजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो ।

मन्दिरमा सिसीटिभी जडान भए पनि तार काट्ने, क्यामेरा फुटाउने कामले गर्दा मन्दिर अहिले सिसीटिभीको निगरानीमा छैन । मन्दिरको संरक्षणमा लापर्वाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रातिदेखि नै चर्को विरोध गरिरहेका छन् । रासस

प्रतिकृया दिनुहोस्