भरतपुर- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले चुनाव लक्षित आश्वासन र शिलन्यास रोक्न माग गर्नुभएको छ । नेकपा चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आश्वासन बाढ्ने नौटंकी बन्द गर्न आग्रह गर्नुभयो । “जनतालाई सधै झुक्काउने काम भएका छन्”, उहाँले भन्नुभयो, “चुनाव आएपछिमात्रै जनता देख्ने प्रवृत्ति हट्नुपर्छ, जनताहरु चुनावी नौटंकीहरुको भ्रममा नपर्नुस् ।” उहाँले जनमतसंग्रहमा जानुपर्ने माग राख्नुभयो ।
सुकुम्बासीहरुलाई लालपुर्जा र भूमि अधिकार दिन सरकार असफल बनेको बताउनुभयो । “चितवनमा २० हजार घरपरिवारमध्ये ५ सय परिवारले पनि पुर्जा पाएका छैनन्”, उहाँले भन्नुभयो, “बच्चालाई चकलेट नदिएर झुक्काएजस्तो भैरहेको छ, पुर्जा बाँडेको प्रचारमात्रै छ, सुकुम्बासी घरमा पुग्ने माला लगाउने काममात्रै भएका छन् ।” बाँदरझुलामा बस्ती बसाउने क्रममा प्रचण्डको समेत भूमिका भएपनि अहिले लालपुर्जा दिन अग्रसर नबनेको आरोप लगाउनुभयो ।
जनतालाई संसदीय व्यवस्था कि वैज्ञानिक व्यवस्था रोज्न दिने गरी जनमतसंग्रह हुनुपर्ने बताउनुभयो । जनताले दलाल, पूँजिवाद व्यवस्था मन नपराएको जीकिर गर्नुभयो । उहाँले नेकपालाई दमन गर्दै राज्य चुनावमा जान लागेकाले चुनावी भण्डाफोर गरिने चेतावनी दिनुभयो । सरकारले ३ बुँदे सहमति लागु नगरेको आरोप लगाउनुभयो । “४२ जना हिरासतमा छन्, १ हजार मुद्धाहरु छन्, महासचिव सहितका नेताहरुलाई पक्राउ पुर्जि जारी भएका छन्”, उहाँले भन्नुभयो, “सरकारले सहमति उल्लंघन गरिरहे प्रतिरोध संघर्षमा जानेछौँ ।” उहाँले स्थानीय तहमा देखिएको भ्रष्टाचार विरुद्ध संघर्षका कार्यक्रमहरु ल्याइने बताउनुभयो ।