×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाजुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

बाजुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट अक्सिजन अभावका कारण जिल्लाका नागरिकले ज्यान बचाउनका लागि आइतबार १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । जिल्लामा केही व्यक्तिहरुले सञ्चालन गरेको ‘बाँच्नका लागि अक्सिजन सहयोग अभियान’ले १० वटा सिलिण्डर हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पतालमा पाँच जनाले कोरोना सङ्क्रमणबाट अक्सिजन, भेन्टिलेटर आइसियु अभावका कारण ज्यान गुुमाएको र केही सङ्क्रमितलाई अक्सिजन अभावका कारण जिल्ला बाहिर पठाउनु परेको अवस्थामा सो अभियानमार्फत जम्मा भएको रकमबाट सिलिण्डर खरीद गरी हस्तान्तरण गरिएको सामाजिक अभियान्ता प्रकाश सिंहले बताएका छन् ।

अभियान सञ्चालन भएको एक सातामै जिल्लाका व्यापारी, कर्मचारी उद्योगी निर्माण व्यवसायी र सर्वसाधारणबाट रु छ लाखभन्दा बढी रकम प्राप्त भएपछि त्यसबाट अक्सिजन खरीद गरेर  जिल्ला अस्पताल बाजुरालाई आज हस्तान्तरण गरेको अर्का अभियन्ता बीरबहादुर विष्टले राससलाई जानकारी दिए । ती अक्सिजन सिलिण्डर बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैबीच कोरोनाबाट सङ्क्रमित भई अक्सिजन अभावका कारण अकालमा ज्यान गुमाउन थालेपछि बोलन्या थलीले ‘प्राणका लागि प्राण अभियान’ सञ्चालन गरी  अक्सिजनका सिलिण्डर सहयोग गर्दै आएको छ । बोलन्या थलीले जिल्ला अस्पताल बाजुरालाई चार र बुढीगङ्गा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीलाई तीन  गरी सात वटा अक्सिजनका सिलिण्डर हस्तान्तरण गरेको बोलन्या थली बाजुराका संयोजक भरत बुढाले जानकारी दिएका छन्  ।

प्रतिकृया दिनुहोस्