काठमाडौ - रसुवामा बुधबार गएको बाढीमा परेर बेपत्ता भएकामध्ये नौ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घटनामा अझै १९ जना हराइरहेका छन् ।
प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित १५ किलो भन्ने स्थानमा त्रिशूली नदी किनारमा भेटिएको हो । सुरुमा २० जना बेपत्ता भएकोमा श्रेष्ठको शव फेला परेपछि अब १९ जनाको खोजी भइरहेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले बताउनुभयो ।
डीआईजी घिमिरेका अनुसार बेपत्ता हुनेहरूमा दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म ५७ जनाको सकुशल उद्धार गरिएको छ । बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका लागि ३८३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
बाढीले नेपाल-चीन सीमा जोड्ने मितेरी पुलसहित ठूलो भौतिक क्षति पुर्याएको छ । प्रहरीका अनुसार बाढीले २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा विद्युतीय गाडी (ईभी) बगाएको छ ।
यसैगरी, बाढीका कारण धुञ्चे–टिमुरे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, रसुवागढी हाइड्रोपावरको बाँध र रसुवा भन्सार कार्यालयको यार्डमा पनि ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।