एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान् टू वान् भेटवार्ता भएको छ । ओली-नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको हो । एमालेको आन्तरिक समस्या समाधान गर्नेगरी गठित १० सदस्यीय कार्यदलको पहलमा ओली-नेपालबीच भेट भएको कार्यदलका एक सदस्यले मकालुखबरलाई जानकारी दिए ।
सोमबारदेखि लगातार वार्तामा रहेको कार्यदलको बुधबार (आज) बिहान मात्रै पनि बैठक बसेको थियो । बिहान ११ बजेपछि सिंहदरबारमा बसेको बैठकमा नेताहरुले ओली—नेपाललाई भेट्टाउनेगरी वार्ता गरेका थिए । बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो ।
त्यसका लागि ओली-नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए । खासगरी संसद् विघटन र सर्वोच्चमा पुगेको एमाले सांसदको हस्ताक्षरबारे मौन बसेर विवाद मिलाउनेमा नेताहरु पुगेका छन् ।
यसअघि पनि एकता कायम राख्ने प्रयोजनकै साथ ओली-नेपालबीच होटल मेरियटमै दुई पटक वार्ता भएको थियो ।