काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरुको अठोटबाट मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले हजारौं युवाहरुले अठोट गर्ने हो भने नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिने बताए ।
आइतबार काठमाडौमा युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले भने, ‘सपना बनाउनुस्, दृढता राख्नुस्, लागि पर्नुस्, सफलता चुम्न आउँछ ।’ उनले नेपाल र नेपालीका लागि कृषिमा आत्मनिर्भर हुने कुरा सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै ५०/६० वर्षअघिसम्म कृषि सामग्री निर्यात गर्ने मुलुक अहिले आयात गर्नुपर्ने अवस्था आउनु ठूलो चिन्ताको विषय भएको बताए ।
आफ्नो सफलताको कथा सुनाउँदै प्रचण्डले युवाहरुलाई भने, ‘म तपाईहरुले हेर्नुभयो भने साँच्चै नै, पहाडमा खान नपुगेर चितवन बसाइसराइ गरेर आएको परिवारको एउटा बच्चा । दुईचोटी त प्रधानमन्त्री भइसकेँ गणतन्त्र नेपालको । कसरी यो सम्भव भयो ? यसो हेर्यो भने आफैलाई सपना हो कि विपना जस्तो लाग्छ । तर हुँदो रहेछ ।’
अध्यक्ष प्रचण्डले यसमा आफूलाई गौरवशाली ठानेको भन्दै विगतमा आफूले युद्धको कमाण्डर पनि भएको तथा युद्धलाई शान्तिमा रुपान्तरण गर्ने अवसर पनि पाएको बताए । उनले आफू जीवनको उत्तरार्द्धमा आइपुगेको भन्दै अब आफ्नो अठोट मुलुकको समृद्धि मात्र रहेको बताए ।