काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए।
उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाई छ।
देउवाले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन। सत्य कुरा हो। अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ। यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ। हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो। तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि। काम नै भएको छैन, दुर्गति छ, देशको। यसको व्यापक छलफल हुन जरुरी छ।’
उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए। प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे। उनले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए।
उनले भने, ‘दुर्गममा कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ। बस्दै बस्दैनन्। त्यसकारण यसबारे व्यापक छलफल हुनुपर्छ। देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन। एउटा बाटो बनाउन लाग्यो भने २५ वर्षसम्म काम सकिन्न्। बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार। देशभरको अवस्था त्यस्तै छ।’
देउवाले पोलिसीले मात्रै केही नहुने भन्दै ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै नसक्ने बताए। उनले भने,’अहिले स्थानीय तहसम्म ब्युरोक्रेसी छ। स्थानीय, प्रदेश, केन्द्रीय ब्युरोक्रेसी छ, तै पनि काम भएको छैन। यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौँ। तपाईहरु नै स्थायी सरकार हो। स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ? पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो।’
उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए। अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए। प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु अस्थायी सरकार भएको समेत बताए।
उनले भने, ‘जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोकेसी हो नि। उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ ? सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ। सबै जिम्मेवार हुनुपर्छ। जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि। त्यही भएर तपाईहरु काम गर्नुहोस्। के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ।’