काठमाडौँ - प्रदेश नं. २ मा बेटी पढाउ बेटी बचाउ नारा अघि सारेर त्यसैमा अनियमितता गरेको समाचार बाहिरिएपछि मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागिएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको मुख्यमन्त्री कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात समेत जफत गरेपछि विपक्षी दलले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् । अख्तियारले प्रदेश सरकारको अभियानलाई साकार पार्न भन्दै साइकल खरिद गर्दा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर विभिन्न फाइल नियन्त्रणमा लिएपछि विपक्षीहरुले मुख्यमन्त्री राउत पदमा रहिरहन नमिल्ने बताएका छन् ।
अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री राउतले भने आपत्ति जनाएका छन् । यद्यपि उनको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । प्रदेश २ का विपक्षी दलहरुले भने मुख्यमन्त्रीकै कार्यालयमा अख्तियारले छापा मारेको भन्दै नैतिकताका आधारमा पनि मुख्यमन्त्री राउत पदमा बसिरहन नमिल्ने तर्क गरेका छन् । मुख्यमन्त्रीमाथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।