काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले विकेटकिपर विनोद भण्डारी, युवा तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउन्डर विवेक यादवलाई अभ्यासको लागि भारत पठाउने तयारी गरेको छ ।
नेपाली क्रिकेट टोली हाल आगमी महिना हुने एसिया कपको लागि विशेष प्रशिक्षणमा श्रीलंकामा छ । इमर्जिङ कप खेल्न गएको नेपाल उतै बसेर प्रशिक्षण गरेको छ । वर्षाको कारण नेपालमा सम्भव नभएपछि टोली उतै बसेर विशेष प्रशिक्षण गरेको हो ।
नेपाली टोलीको विशेष प्रशिक्षणको लागि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी र आसिफ शेख श्रीलंका जानेछन् । करण, ज्ञानेन्द्र र आरिफ इमर्जिङ कपमा टोलीमा थिएनन् । आसिफ भने इमर्जिङ कप खेल्न श्रीलंका गए पनि राहदानी (पासपोर्ट) को म्याद थप्न नेपाल आएका थिए ।
नेपालले आगमी अक्टोबर पहिलो साता घरेलु मैदान टियु र मुलपानीमा आइसिसी विश्वकप टि२० एसिया छनोट आयोजना गर्दैछ । नेपालले चीनमा हुने १९ औं एसियाली खेलकुदमा सेप्टेम्बर अक्टोबरमा क्रिकेटमा सहभागी जनाउनेछ ।
नेपालले टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै विकेटकिपर विनोद भण्डारी, कमलसिंह ऐरी र विवेक यादव लगायतका खेलाडीलाई भारतमा अभ्यास गर्न पठाउने तयारी गरेको क्यानले जनाएको छ ।