×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सम्झना मृत्यु प्रकरण : श्रीमान र सासु-ससुरा पक्राउ, हत्याको आशंका

सम्झना मृत्यु प्रकरण : श्रीमान र सासु-ससुरा पक्राउ, हत्याको आशंका

कञ्चनपुर- कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ सिहपालटोलमा १७ वर्षीया सम्झना भट्ट आफ्नै घरको कोठामा रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। ५ महिनाअघि मात्रै प्रेम विवाह गरेकी उनको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएपछि घटनाले गम्भीर मोड लिएको छ।

परिवारले सम्झनाको हत्या भएको र त्यसलाई आत्महत्याको रूप दिन खोजिएको आरोप लगाउँदै श्रीमान् र उनको परिवारविरुद्ध किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा प्रहरीले सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट, उनकी दिदी (नन्द) २८ वर्षीय पुजा भट्ट, आमा सासु ४० वर्षीया किरन भट्ट र पवनका बुबा ५० वर्षीया हरिकृष्ण भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

घटनाको पृष्ठभूमि र पारिवारिक आरोप

मृतक सम्झनाका बुवा भोजराज भट्टका अनुसार विवाह भएको केही समयदेखि नै छोरीमाथि श्रीमान् पवन र उनको परिवारले चरम शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए। "विवाहपछि छोरीलाई पटक-पटक कुटपिट गर्ने, गालीगलौज गर्ने र मर्न बाध्य पार्ने गरी यातना दिइयो," बुवा भोजराजले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको जाहेरीमा उल्लेख गरेका छन्, "यो आत्महत्या होइन, योजनाबद्ध हत्या हो।"

विवाहपछि विवाद बढ्दै गएपछि सम्झना केही समय माइतीघरमा बस्दै आएकी थिइन्। घटना हुनुभन्दा ४ दिनअघि मात्र श्रीमान् पवनले अबदेखि राम्रोसँग राख्ने वाचा गरेर उनलाई घर फिर्ता लगेका थिए। तर, घर लगेको केही दिनमै यस्तो दुःखद घटना घट्यो।
 


मृतक सम्झना भट्ट (बायाँ) र पक्राउ परेका उनका श्रीमान् पवन भट्ट (दायाँ)। (तस्बिर: सामाजिक सञ्जाल)

मृत्युअघिको त्यो अन्तिम फोन कल

घटनाले तब झनै शंकास्पद मोड लियो जब सम्झनाले मृत्युभन्दा केही समयअघि काठमाडौंमा बस्ने आफ्नी फुपूलाई फोन गरेर आफ्नो ज्यान खतरामा रहेको बताएको खुल्यो।

स्रोतका अनुसार, सम्झनाले रुँदै फुपूलाई भनेकी थिइन्, "मलाई यहाँ निर्घात कुटपिट गरिरहेका छन्, यिनीहरूले मलाई जतिबेला पनि मार्न सक्छन्, मलाई बचाउनुहोस्।"

त्यसपछि फुपूले तत्कालै सम्झनाकी आमालाई फोन गरेर घटनाबारे जानकारी गराइन्। खबर पाउनासाथ आमा र बहिनी महेन्द्रनगरबाट बेल्डाँडीस्थित छोरीको घर पुग्दा कोठाको ढोका भित्रबाट बन्द थियो। स्थानीय र प्रहरीको सहयोगमा ढोका खोल्दा सम्झना सलको पासोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरी अनुसन्धान र पछिल्लो अवस्था

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मृतकका बुवाले श्रीमान् पवन भट्ट, पवनकि दिदि पुजा भट्ट, सासूआमा किरण भट्ट र ससुरा हरिकृष्ण भट्ट बिरुद्ध 'आत्महत्या दुरुत्साहन' मुद्दामा किटानी जाहेरी दिएका छन्। प्रहरीले श्रीमान् पवन र सासु-ससुरालाई नियन्त्रणमा लिइसकेको छ भने फरार रहेका पुजा भट्टको खोजी भइरहेको जनाएको छ।

कञ्चनपुरका प्रहरी प्रवक्ता, डीएसपी चक्रबहादुर शाहले भने, "घटना निकै संवेदनशील र शंकास्पद देखिएको छ। हामीले पक्राउ परेकाहरूमाथि म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेका छौं। पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणहरूको विश्लेषणपछि सत्यतथ्य बाहिर आउनेछ।"

यो घटनाले नाबालिका उमेरमा हुने प्रेम विवाह र त्यसपछिको घरेलु हिंसाको भयावह तस्बिरलाई फेरि एकपटक सतहमा ल्याएको छ। १४-१५ वर्षको कलिलो उमेरमा बसेको प्रेमलाई विवाहमा परिणत गरेकी सम्झनाले विवाहको ५ महिनामै ज्यान गुमाउनुले समाजलाई स्तब्ध बनाएको छ। उनको परिवारले छोरीको मृत्युमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ।

प्रतिकृया दिनुहोस्