काठमाडौं - ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको फ्लाइओभर चार दिनपछि अर्थात् असार ६ गतेदेखि सवारीसाधनका लागि खुला हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएर यो सञ्चालनका लागि पूर्ण रूपमा तयार छ। लेन सेपरेटर राख्ने तथा सडक लाइनिङ जस्ता अन्तिम चरणका कामहरू पनि सम्पन्न भइसकेका छन्।
गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको टोलीले फ्लाइओभरको स्थलगत निरीक्षण गरी आवश्यक तयारी पूरा गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार अब फ्लाइओभर सञ्चालनको अन्तिम तयारी गरिएको हो।