काठमाडौं - नेकपा माओवादी केन्द्रले आइतबार (आज) बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने बताइएको थियो ।
माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्ने छ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । नयाँ सरकार गठनमा अग्रसरता देखाएको माओवादी केन्द्रले आजै जनता समाजवादी पार्टी (जसपा)सँग छलफलसमेत गर्दै छ । अंकगणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक बनेको छ ।
जसपासहितका विपक्षी दलका नेताहरुले माओवादीले समर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पनि नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।