काठमाडौँ–सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन भएको छ । साउन ६ र ७ गते हेटौडामा सम्पन्न नवौँ महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शेखर गगन निकट लम्सालले देउवा निकट अनिता बिन्दुलाई १३३ मत अन्तरले हराउदै प्रेस युनियनको अध्यक्ष निर्वाचित भएका हुन् ।
महाधिवेशनवाट निर्वाचित पदाधिकारीहरुमध्ये महासचिवमा निर्वाचित दिलिप पौडेल र उपत्यका उपाध्यक्षमा निर्वाचित जीवन भण्डारीले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेका छन् । बाग्लुङका पौडेलले र पाल्पाका भण्डारीले अनिता बिन्दु समुहवाट महासचिवमा निर्वाचन लडेका जगन्नाथ दुलाल र उपत्यका उपाध्यक्षमा निर्वाचन लडेका निरज खतिवडालाई आधा भन्दा बढि मतले पराजित गरेका हुन् ।
निर्वाचित पदाधिकारीहरु मध्ये सबैभन्दा धेरै मत ल्याएका पौडेलले ८७८ मत प्राप्त गरेका हुन् भने भण्डारीले ८४२ मत प्राप्त गरेका छन्। दुवै जनाले आफ्ना प्रतिश्पर्धीभन्दा दोब्बर मत ल्याएका छन् । पौडेलका प्रतिश्पर्धी जगन्नाथ दुलालले ४५१ र भण्डारीका प्रतिश्पर्धी निरज खतिवडाले ४६२ मात्र मत प्राप्त गरेका थिए ।
उपत्यका उपाध्यक्षमा उपत्यकाका मतदाताले मात्रै मतदान गर्ने गलत बुझाईका कारण धेरै मतदाताले अरु पदमा मतदान गरेपनि उपत्यका उपाध्यक्षमा भने मतदान नगरेको पाइएको निर्वाचन समितिका राजकुमार कार्कीले बताए । उपत्यका उपाध्यक्षमा पनि देशभरीका सबै प्रतिनिधिले मतदान गर्न पाउने भन्ने बुझाई सबैमा भएको भए भण्डारीको मत अझ धेरै हुने कार्कीले जानकारी दिए ।
यता निर्वाचित केन्द्रिय सदस्यहरुमध्ये स्याङजाकी सरिता खनालले सर्वाधिक मत प्राप्त गरेकी छिन् । कुल खसेको १३९३ मत मध्ये खनालले १०२१ मत प्राप्त गरेकी हुन् उनि निवर्तमान कार्यसमितीका सचिव स्वर्गिय सुर्यकुमार श्रेत्रीकी श्रीमती हुन् । निर्वाचित पदाधिकारी मध्ये अधिकांश लम्साल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।