काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि पुनः ब्यूँतिएको निर्मला हत्या प्रकणमा फेरि सुक्ष्म अनुसन्धान सुरु भएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान सुरु भएको हो ।
हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान सुरु गरेको हो। निर्मला हत्या प्रकरणमा डीआईजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
यसअघि सो घटनाको फाइल भने क्लोज भएको थिएन । नियमित रूपमा सीआईबीका एसपीको नेतृत्वमा रहेको टोली र जिल्लाको अनुसन्धान अधिकृतको टोलीले अनुसन्धान जारी राखेको थियो । अपराधी पत्ता नलागुन्जेलसम्म जिल्लामा अनुसन्धान अधिकृत सरुवा हुनेबित्तिकै नयाँ अधिकृत तोकेर अनुसन्धान जारी रहने गरेको प्रहरीले जनाएको छ ।
अहिले अनुसन्धानको नेतृत्वमा रहेका डीआईजी सिंहले यसअघि पनि निर्मला पन्तको हत्याको अनुसन्धान गर्न कञ्चनपुर गाएकी थिइन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कार्यभार सम्हालेकै दिन बलात्कारपछि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।