काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारत्रय रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलन अपराह्न ४ बजे रास्वपा मुख्यालय बसुन्धरामा हुने महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् ।
रवि चितवन २ बाट उम्मेदवार बनेका छन् भने स्वर्णिम र रमेश क्रमश: तनहुँ १ र बारा २ बाट उम्मेदवार बनेका हुन् । उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । उपनिर्वाचनको उम्मेदवारहरूका नामले राजनीतिक वृत्तमा ‘भाईब्रेसन’ पैदा भएको रास्वपाले दाबी गरेको छ । ‘हामी खुसी छौँ, हामीले तीनवटै क्षेत्रमा जित्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘उम्मेदवारहरूको नामले भाईब्रेसन पैदा भएको छ ।’
रवि पार्टी सभापति हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । तर, नागरिकता प्रकरणका कारण उनको सांसद पख खारेज भयो । यसपछि पुन: त्यही क्षेत्रबाट उम्मेदवार बन्न लागेका हुन् ।
स्वर्णिम वाग्ले कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका हुन्, उनी अर्थशास्त्री हुन् । राष्ट्रिय योजना आयोगका सदस्यदेखि उपाध्यक्षसम्म भएका उनले उपनिर्वाचन जितेर नयाँ यात्रा सुरू गर्ने दाबी गरेका छन् ।
रमेशचाहिँ पूर्वप्रहरी डीआईजी हुन् । उनले यसअघि सुशासन पार्टी गठन गरेका छन् । उपनिर्वाचनपछि उक्त पार्टी राष्ट्रिय स्वतन्त्रसँग ‘मर्ज’ हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र र सुशासन पार्टी ‘मर्ज’ हुँदै
उम्मेदवारहरूले आफूले जित्ने दाबी गरेका छन् । चितवन २ का उम्मेदवार रविले आफूहरूले जित्ने खबर सुनाउन पत्रकार सम्मेलनको आयोजना गरेको बताए । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हाम्रो टीम राम्रो बनेको छ । हामीले तीनवटै क्षेत्रमा जित्दैछौँ, त्यही सुनाउनेछौँ ।’