काठमाडौँ- पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज पाँडेले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सेना प्रमुख पाण्डेले सोमबार २० भदौ बिहान सैनिक मञ्च टुँडिखेल पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। पाडे आइतबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।
नेपाली सेनाका रथी बालकृष्ण कार्कीले पाँडे नेतृत्वको भारतीय सैन्य प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो। नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष यहाँ आएका हुन्।
एक विशेष समारोहबीच सोमबार २० भदौ मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानसेनापति पाँडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।