काठमाडौँ- कलाकारितामा स्थापित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई लिएर बेला बेला विभिन्न स्क्यान्डल सार्वजनिक भइरहन्छन्। फिल्म उद्योगमा जमेको यो जोडीलाई धेरैले जीवनकै जोडीका रुपमा लिने गरेका छन्।
दीपक–दीपाले थुप्रै हिट काम गरेका छन्। यो जोडी अहिले फिलम ‘छक्का पन्जा ४’को सुटिङमा छ। पछिल्लो पटक उनीहरु चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा देखिएका छन्। उनीहरुको यो जोडीका साथमा त्यहाँका मूल पुजारी विदुर न्यौपाने देखिन्छन्। अर्को खास कुरा अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखिएको छ।
खैरो छालाको जुत्ता, जिन्स पाइन्ट, कुर्था र ज्याकेटमा देखिएका दीपकका साथमा देखिएकी दीपा रातो साडीमा सजिएकी देखिन्छिन्। यो पहिरनमा बनाएको टिकटक न्यौपानेले आफ्नो टिकटक अकाउन्टमा राखेका छन्। भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्।’
अहिले यो भिडियो भाइरल भइरहको छ। अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखेपछि दर्शकले विभिन्न अड्कबाजी गरिरहेका छन्। धेरैले दीपाको विवाह भएको भनेर प्रश्न गरेका छन्।
दीपकले फिल्मको पात्र राजाकै लवजमा बोलेका छन् भने दीपाश्रीको त्यो क्यारेक्टर लुक्स हो । दीपक-दीपासहितको टोली भालेश्वर पुगेर फिल्म सुटिङ गरिसकेको छ । निर्माता निर्मल शर्मा पनि दीपक-दीपासँगै भालेश्वर पुगेका थिए ।