काठमाडौं - यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या देखिएपछि सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू अवरुद्ध भएका छन्। सिस्टममा आएको खराबीका कारण नयाँ लाइसेन्सका लागि लिइने लिखित परीक्षा, ट्रायल (प्रयोगात्मक परीक्षा), लाइसेन्स प्रिन्ट तथा अनलाइन आवेदन जस्ता सबै काम देशभर रोकिएका हुन्। विभागले एक औपचारिक सूचना जारी गर्दै सेवा बन्द भएको जानकारी दिएको छ।
विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले विभागको मुख्य सर्भरमै समस्या आएकाले सेवाहरू बन्द गर्नु परेको बताए। उनले भने, "हाम्रो सर्भरमा समस्या आएकाले आजका लागि लिखित, ट्रायल र लाइसेन्स प्रिन्ट लगायतका सबै काम रोकिएका छन्। अनलाइन आवेदन प्रणाली पनि बन्द छ।" प्राविधिक टोलीले मर्मतको काम निरन्तर गरिरहेको र आज साँझसम्ममा समस्या समाधान हुने अपेक्षा गरिएको उनले जानकारी दिए।
विभागद्वारा जारी सूचनामा गत शुक्रबारदेखि नै प्रणालीमा समस्या देखिन थालेको उल्लेख छ। "समस्या समाधानको कार्य भइरहेकाले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवाहरू रोकिएको छ," सूचनामा भनिएको छ। सूचना अनुसार, इडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट गर्ने प्रणाली पूर्ण रूपमा बन्द भएका छन्।