×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बढे बदर मत: गर्ने तालमेल, मत माग्दा जालझेल

बढे बदर मत: गर्ने तालमेल, मत माग्दा जालझेल

काठमाडौं- विराटनगर महानगरपालिकामा विगतको स्थानीय तह निर्वाचनभन्दा यस पटक अत्यधिक मत बदर भएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा जम्मा २४ प्रतिशत मत बदर भएको विराटनगरमा यस पटक बदर मतको स‌ंख्या झनै बढेको छ।

यस पटक प्रमुखमा २४ प्रतिशत मत बदर हुँदा उपप्रमुखमा भने ३८ प्रतिशत मत बदर भएको छ। निर्वाचन कार्यालयका अनुसार प्रमुख पदमा सदर मत ६८ हजार ०३६ रहेको छ भने उपप्रमुखमा सदर मत ५५ हजार २२९ रहेको छ।

यस्तै प्रमुख पदमा बदर मत मात्रै २१ हजार ३५८ रहेको छ भने उपप्रमुखमा ३४ हजार १६७ मत बदर भएको छ। सबैभन्दा बढी प्रमुख तथा उपप्रमुखमा बदर भएको मत वडा नम्बर ६ मा छ। वडा नम्बर ६ मा मात्रै उपप्रमुखमा ३ हजार ८ सय ७ मत बदर भएको छ भने प्रमुखमा १ हजार ९ सय ६५ मत बदर भएको छ। सबैभन्दा कम बदर भएको वडा भनेको ७ नम्बर वडा हो। यस वडामा प्रमुखमा ३ सय ९८ र उपप्रमुखमा ९७८ मत बदर भएको छ।

यस पटक उपप्रमुखमा यति धेरै मत बदर हुनुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु हो भने प्रमुखमा बदर हुनुमा जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनु हो। गठबन्धन गरेर चुनावमा गएका दलहरूले आ-आफ्नो चुनाव चिन्हमा मत माग्दा समर्थक तथा शुभचिन्तकले सोही चिन्हमा मतदान गर्दा बदर मतको संख्या बढेको छ।

धेरै वडाध्यक्षका उम्मेदवारहरूले त प्रमुख वा उपप्रमुखमा अर्को दलको चुनाव चिन्हमा मत हाल्नु भन्दै समर्थकमा जाने हिम्मत नै गरेनन्। किनकि त्यसो गर्दा आफ्नो चुनाव चिन्हमा कम मत आउने सम्भावना हुन्थ्यो। यो कुरालाई नेकपा माओवादी केन्द्र विराटनगरका नेता भोगेन्द्र यादव पनि स्वीकार गर्छन्।

‘हामीले प्रमुख र उपप्रमुखमा हाम्रा उम्मेदवार छैनन् भन्यौँ, तर जनताले आफ्नै बुद्धि लगाइदिए,’ उनी भन्छन्, ‘दलहरूले आफ्नो आफ्नो भोट माग्ने हो। वडाध्यक्षहरूले अरूको माग्दा उतैउतै भोट जान्छ कि भन्ने लागेर एउटै लाइनमा भोट मागेको हुनसक्छ।’

मत बदर हुनुमा मतपत्र पनि ठीक नभएको उनको भनाइ छ। ‘धेरै मत बदर हुनुमा मतपत्र पनि ठिक थिएन। एउटै लाइनमा चुनाव चिन्ह हुनुपर्नेमा मतदाताले छानेर मत हाल्न नसक्ने खालको मतपत्र थियो। त्यहाँ निर्वाचन आयोगको पनि कमजोरी भयो। सजिलो हुने गरी एक लाइनमा चुनाव चिन्ह दिनुपर्थ्यो,’ नेता भोगेन्द्र यादवले भने, ‘निर्वाचन आयोगले प्रशिक्षण दिएन। अहिले पनि औँठा छाप देखियो। बजेट मतदाता शिक्षामा छुट्याउने तर काम नगर्ने निर्वाचन आयोगको रवैया भयो।’

नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईले वडाका उम्मेदवारहरूले आफ्नो भोट बिग्रन्छ भनेर एक छापे मत माग्दा बदर धेरै भएको बताउँछन्। ‘गाछीमा हाल्नेले गाछीगाछी, छातामा हाल्नेले छातामा हाले। वडामा उठ्ने साथीहरूले आफ्नो मत बिग्रन्छ भनेर त्यही अनुसार निर्देशन गरेको बुझिन्छ,’ उनी भन्छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले बदर भएमध्येको ९० प्रतिशत मत उम्मेदवार नभएको चुनाव चिन्हमा परेको मत रहेको बताए। ‘बदर मध्ये उम्मेदवार नभएको चिन्हमा मत परेको ९० प्रतिशत छ,’ बुढाथोकीले भने, ‘अरू १० प्रतिशत मत बदर भएको हो। हामीले राजनीतिक विषय बोल्न मिल्दैन। उम्मेदवार बिनाको मत सबै बदर भएकोले धेरै देखिएको हो।’उनले गठबन्धन भए पनि एकछापे मत धेरै आएको बताए।

‘कसैको मेयरमा उम्मेदवारी छ, कसैको छैन, कसैको उपमेयरमा छ मेयरमा छैन त्यस्तो ठाउँमा लहरै मत आएको छ,’ बुढाथोकीले भने। विराटनगरको प्रमुख तथा उपप्रमुख पदमा नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेका थिए। जसमा प्रमुख पदमा कांग्रेसका नागेश कोइराला उम्मेदवार बनेका छन्। त्यसप्रति असन्तुष्टि जनाउँदै जसपाका नेता उमेश यादवले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यादवले लालटिन चुनाव चिन्ह लिएका छन्। प्रमुख पदमा मत दिनेहरूले रुख चिन्हमा पनि र लालटिन चिन्हमा पनि मत दिएको पाइएको मतगणनामा खटिने कर्मचारीहरूले बताएका छन्। यस्तै उपप्रमुख पदमा पनि नेकपा माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

उनको चुनाव चिन्ह पनि लालटिन नै रहेको छ। मतदाताले कतै रुख, लालटिन र छाता चिन्हमा पनि मतदान गरेको पाइएको गणनामा खटिने कर्मचारी बताउँछन्। यस पटक तालमेलले गर्दा अधिकांश ठाउँमा मत बदर भएका छन्।

प्रतिकृया दिनुहोस्