×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उद्योग र व्यापार क्षेत्रमा सुधार गरेको मन्त्री बडूको दाबी

उद्योग र व्यापार क्षेत्रमा सुधार गरेको मन्त्री बडूको दाबी

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र कोभिड-१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दाबी गरेका छन्।  मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्।  चैत २४ मा मान्त्रालय सम्हाल्दा मुलुको अन्तर्राष्ट्रिय व्यापार र उत्पादनमुलक उद्योगको अवस्था जटिल अवस्थामा रहेको र त्यसलाई नीति तथा कार्यक्रम र बजेटबाट सहज बनाउँदै लगेको मन्त्री बडूले दाबी गरे।  ‘उत्पादन मूलक उद्योग कुल उत्पादन क्षमताको ४० प्रतिशत मात्रैमा चलेका थिए।

१० प्रतिशत त्यस्ता उद्योग बन्द भएका थिए,’ मन्त्री बडूले भने, ‘अहिले त्यास्ता उद्योग पुरानै अवस्थामा फर्किएका छन्। व्यापारमा आयातमा सहजीकरण र निर्यात २ खर्ब नाघेको छ।’  अर्थतन्त्रको सुधारका लागि मन्त्रालयले पहिले कार्यक्रम र त्यसलाई सहजीकरण गर्नेगरी नीतिगत व्यवस्था गरिएको पनि मन्त्री बडूले दाबी गरे।  मन्त्रालयले मुलुकलाई आत्मनिर्भर बनाउन र स्वदेशी वस्तुको उपभोगका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवम् उपभोग अभियान घोषणा गरेको मन्त्रालयको भनाइ छ। साथै नेपाली वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न निर्यातमा अनुदानको व्यवस्था गरिएको पनि मन्त्रालयको दाबी छ।

उनले आफ्नो कार्यकालमा उद्योग विभागमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको जानकारी दिए। सो संख्याका उद्योग दर्ता हुँदा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको मन्त्री बडूको भनाई छ। यसमध्ये विदेशी लगानीका २९५ उद्योगमार्फत ५४ अर्ब १५ करोड लगानी हुने र १६ हजार ९ सय नयाँ रोजगारी सिर्जना हुने मन्त्रालयले जानकारी दियो।  निकासी प्रबर्द्धनलाई टेवा पुर्‍याउन ७५७ वटा निर्यात गर्ने उद्योगहरुको भ्यालु एडिसन प्रमाणित गरी नेपाल राष्ट्र बैंकबाट १ अर्ब ४३ करोड रुपैयाँ निकासा गरिएको मन्त्री बडूले जानकारी दिए।

यस्तै, यो अवधिमा २९ हजार ४४ नयाँ नयाँ कम्पनी दर्ता भएका छन् भने ८६ हजार २७२ वटा कम्पनी अद्यावधिक भएका छन्। कम्पनी रजिष्टारको कार्यालयले यो ५ महिनाको अवधिमा १ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।  नेपाल कुल मागको ९० प्रतिशत सिमेन्ट उत्पादन हुन थालेको र केही उद्योगबाट उत्पादित सिमेन्ट निर्यात पनि हुन थालेको मन्त्री बडूले बताए। उद्योग विभागले ३७ वटा औद्योगिक डिजाइन तयार पारेको छ भने २ हजार ९७५ वटा ट्रेडमार्क दर्ता गरेको छ।

यस्तै, नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको पनि मन्त्री बडूले जानकारी दिए।  थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको छ। यस्तै, ४९ उद्योगका ६६ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरिएको छ।   

प्रतिकृया दिनुहोस्