काठमाडौँ - काेराेना भाइरसकाे संक्रमण एकाएक बढ्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बस्न लागेको हाे
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न बैठक गर्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जानकारी दिए । ‘सीसीएमसीको सिफारिसबारे हामी जानकार छौं,’ उनले भने, ‘हामी छलफल गर्दैछौँ, त्यसपछि निर्णय गर्नेछौँ ।’
सिसीएमसीले ५ सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् । यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ ।