काठमाडौं- पुस्तकका विषयमा एकजना विद्वान भन्छन– ‘केही किताव चाख्नुपर्छ, केही किताव निल्नुपर्छ, केहीलाई चपाएर पचाउनु पर्छ ।’ पुस्तक चैतन्य र प्रज्ञाको जननी हो । पुस्तकबाटै मानिस विश्व घुम्छ । पुस्तकमा लेखिएका शब्दले मानिसका जीवनरेखा र भाग्यरेखा निर्धारण हुन्छन् । मानव सभ्यतासंगै ज्ञानको आयाम बढेको पाइन्छ । सभ्य समाजमा पुस्तकको ज्यादै सम्मान हुन्छ । पुस्तकलाई सभ्यता, संस्कृति, इतिहास, धर्म, दर्शन, अध्यात्म, ज्ञान विज्ञान अझ भनौं मानव उत्थानसँग सम्बन्धित सम्पूर्ण विषयको संरक्षक र संवाहक मानिन्छ ।
पूर्वीय परम्परामा पुस्तकलाई देवताको सम्मान दिँदै ढोग्ने चलन छ । प्रचलित युग अनुसार, सत्ययुगमा– पुस्तकका देवता शिवजी थिए । त्रेतामा सूर्य र द्वापरयुगमा प्रजापति–ब्रह्मा थिए भने यस कलियुगमा स्वयं हरि भगवानले पुस्तकमा बास गरेको विश्वास गरिन्छ ।
प्रारम्भमा शिक्षाको प्रचार मौखिक परम्परामा आधारित थियो । पछि क्रमश लेख्यकलाको विकास भयो । पूर्वीय जगतमा करिब पाँचहजार वर्षदेखि लिपिको उत्थान भएर भूर्जपत्र, बाँसका खबटा वा यस्तै कतिपय सामग्रीमा लिपि चित्रित गरेर राख्न थालिएको हो । पूर्वीय जगतमा पहिलोपल्ट पुस्तक लिपिबद्ध गर्ने काम महर्षी व्यासले गरेका थिए भनेर विभिन्न ग्रन्थमा उल्लेख छ । भारत तथा नेपालमा विक्रम संवत प्रारम्भ हुनुअघिदेखि नै पुस्तकको महिमा गाइएको पाइन्छ । पुस्तक संरक्षण गर्न तक्षशीला नालन्दा आदि विश्वविद्यालयहरूमा ठूला ठूला पुस्तकालय थिए ।
कस्तो छ पठन संस्कृति ?
वास्तवमा प्रत्येक पाठककोे रुचि भिन्नभिन्न हुन्छ । यो पुस्तक राम्रो हो भनेर कसैले आफूलाई मन पर्नुको कारण देखाउन सक्छ तर अर्को पाठकलाई त्यही कृति झूर लाग्न सक्छ । उमेर र पठनस्तर अनुसार राम्रो नराम्रो वा सामान्यको परिभाषा भेटिन्छ । हामीले पुस्तक पसल र पुस्तक मेलामा सहभागी र पुस्तक विक्रेतालाई तपाईं कुन विधाको पुस्तक पढ्न रुचाउनुहुन्छ ? सामाजिक सञ्जालले पुस्तकको भोक मेटाउँछ कि बढाउँछ ? विभिन्न पुस्तामा पठनपाठनको रुचि कस्तो छ ? उमेर समूहबीच कितावको चयनमा कस्तो विविधता छ ? आदि जिज्ञासा राखेका थियौं । युवापुस्ता आफूलाई नयाँनयाँ काममा मोटिभेट गर्ने खालका पुस्तकको खोजीमा रहेको पाइयो ।
आध्यात्मिक पुस्तकमा पनि उनीहरुको गहिरो रुचि देखियो । अधबैंसेहरु ठूलाठूला मानिसका जीवनगाथा, आत्मबृतान्त पढ्न लालायित रहेको देखियो । ५० नाघेकाहरु धार्मिक ग्रन्थप्रति स्नेह देखाउँथे । यसबाहेक शेयरबजार, लभस्टोरीका पुस्तकमा सबै उमेर समूहको रुचि देखिन्थ्यो । सामाजिक सञ्जाल र इन्टरनेटमा उपलब्ध सामग्रीले पुस्तकको अभाव मेट्न नसक्ने उनीहरुको बुझाई छ । पुस्तकले ज्ञानसंगै मानसिक शान्ति पनि दिने भएकाले यी दुईको तुलना हुन नसक्ने क्रेताहरु बताउँछन् ।
नेपालमा कितावको मूल्य आकासिनुको कारण के हो ? विक्रेता भन्छन– ‘पहिलो त ग्राहकले नै अस्वाभाविक सहुलियत खोज्छन् । दोस्रो वितरकको अनपेक्षित माग छ । तेस्रो कागजको गुणस्तर र लेखकलाई दिने पारिश्रमिकको भार पनि त्यही पुस्तकमा थपिने हो । त्यसैले हामी चाहेर पनि सस्तो मूल्यमा पुस्तक बेच्न सक्दैनौं ।’
पुस्तकका पारखीहरु भन्छन-वास्तवमा पुस्तक भनेको हवाइजहाज, रेल सडकको यात्रा मात्र नभएर गन्तव्य पनि हो । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका छन– ‘मेरो सबैभन्दा राम्रो मित्र त्यो व्यक्ति हो, जसले मलाई यस्तो किताव देओस, जुन मैले नपढेको होस् ।’
विशेषगरी म्याक्सिम गोर्कीको ‘आमा’, टल्सटयको ‘युद्ध र शान्ति’, प्रेमचन्द्रको गोदान, रविन्द्रनाथ टेगोरको गोरा पुस्तक सदाबहार विक्री हुने पुस्तकको सूचीमा छन् । त्यसबाहेक बिल गेट्स, जो बाइडेन, बाराक ओबामा, नरेन्द्र मोदीको जीवनी रुचाइएका छन् । नेपाली लेखकमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देबकोटा, लेखनाथ पौड्याल, बीपी कोइराला, माधवप्रसाद घिमिरेका कृतिहरु अग्रपंक्तिमा छन् । युवापुस्तका लोकप्रिय स्रष्टा अमर न्यौपाने, सुविन भट्टराई, बुद्धिसागरका कृति युवाका रोजाइमा परेका छन् । बलिउड अभिनेत्री मनिषा कोइरालाको अनुदित कृति ‘जीजिविषा’ पनि सबै समूहले उतिक्कै रुचाइएको पुस्तक हो ।
पुस्तक थेरापी
कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ । अनुसन्धानबाट के पत्ता लाग्यो भने उचित कथा पढ्न सकियो भने हामीलाई त्यसले फेरि फुर्तिलो बनाउँछ र संसारलाई हेर्ने नयाँ दृष्टिकोण दिन्छ । पुस्तकले कसरी मानसिक सन्तुलन मिलाइदिन्छ त ?किताब अन्य कुनै पनि कलाभन्दा बलियो माध्यम हो । चलचित्र वा टीभीमा चित्रहरू देखाइन्छ तर पुस्तकमा त्यो आफैंले कल्पना गर्नुपर्छ, त्यसैले यो धेरै शक्तिशाली हुन्छ । उपन्यासमा संरचनागत कथा हुने भएकोले लथालिङ्ग सोचलाई यसले लयमा ल्याउन सहयोग गर्ने बताइन्छ ।