काठमाडौं - त्रिभुवन राजपथ अन्तर्गतको नागढुंगा–नौबिसे सडकखण्डमा जारी स्तरोन्नतिको काम नसकिएपछि यातायात बन्दको अवधि थप पाँच दिन लम्ब्याइएको छ। सडक विभागले आइतबार एक सूचना जारी गर्दै बर्खाअघि नै काम सम्पन्न गर्नुपर्ने भएकाले शुक्रबारसम्म दिउँसोको समयमा यातायात आवागमन बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।
बर्खायाममा सडकमा हुन सक्ने सम्भावित अवरोध र क्षतिलाई न्यूनीकरण गर्न स्तरोन्नतिको कामलाई तीव्रता दिइएको विभागले जनाएको छ। यसअघि जेठ ६ गतेदेखि २५ गतेसम्म दिउँसोको समयमा यातायात बन्द गरेर काम गरिएको थियो। तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि पुनः पाँच दिनका लागि सडक बन्दको अवधि थपिएको हो।
विभागले दिउँसोको समयमा उक्त सडकखण्ड बन्द रहने हुँदा साना तथा मझौला सवारीसाधनका चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। जसअनुसार, काठमाडौंबाट बाहिरिन वा भित्रिनका लागि सीतापाईला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक प्रयोग गर्न सकिनेछ। ठूला र मालबाहक सवारीसाधनलाई भने तोकिएको समयमा धैर्य गरी बस्न अनुरोध गरिएको छ।