काठमाडौं - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो।
दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ। पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन गर्नुभयो।
प्रधानमन्त्री देउवाले पदक तालिकामा सबभन्दा अग्रस्थानमा रहने आर्मी टिमलाई रनिङ ट्रफी पनि प्रदान गर्नुभयो। राष्ट्रिय खेलकुद प्रतियोगितामा यस पटक रनिङ ट्रफीको नयाँ सुरुवात भएको हो। सुन र चाँदीजडित रनिङ सिल्ड तीन संस्करण लगातार जित्नेले आफ्नो बनाउन सक्ने प्रावधान राखिएको छ। यस पटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदक विजेतालाई १५ हजार रुपियाँ पनि पुरस्कार दिइएको थियो।
नेपाली सेना १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ टिम च्याम्पियन बन्न सफल भयो। एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक तथा नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्यसहित १९५ शीर्ष तीनमा रहन सफल भए। आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित कुल १२० पदक जित्न सफल भयो।
प्रधानमन्त्री देउवाले ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित भएको नवौँ राष्ट्रिय खेलकुद सफल बनाउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नवौँ राष्ट्रिय खेलकुदमा खेल्ने क्रममा निधन हुने पाराग्लाइडर निसिम थापा र उहाँको परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै आगामी दिनमा यस प्रकारको दुःखद घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो।
पाराग्लाइडिङ खेलाडी निसिमको स्मरण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। गत आइतबार पोखरा सराङकोटको आकाशमा क्रसकन्ट्री पाराग्लाइडिङ खेल्ने क्रममा २६ वर्षीय निसिमको दुर्घटनामा परी मृत्यु भएको हो। ४१ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय खेलकुदको इतिहासमा खेल समयमा खेलाडीको निधन भएको यो पहिलो घटना हो।
यसैगरी प्रधानमन्त्री देउवाले खेलकुदमा राष्ट्रिय प्रतियोगिता नियमित रूपमा आयोजना नहुँदा खेलाडी पलायन हुने डर हुने भन्दै खेलकुद क्षेत्रलाई पनि व्यवस्थित तरिकाले अघि बढाउन सरकार कटिबद्ध रहेको जानकारी गराउनुभयो। उहाँले थप्नुभयो, “खेलाडीको बीमा, मासिक वृत्ति, औषधोपचार सुविधाका साथै खेलाडीलाई सम्भव भएसम्म आर्थिक एवं गैरआर्थिक सुविधा र प्रोत्साहनको वातावरण तयार गर्न सरकार प्रयत्नशील छ।”
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुदबाट प्राप्त जित र अनुभवलाई खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग गरेर नेपालको प्रतिष्ठा कायम राख्ने अपेक्षा गर्नुभयो। उहाँले खेलकुद क्षेत्रको २० वर्षीय गुरुयोजना निर्माण तथा खेल विश्वविद्यालयको स्थापनामा महìवपूर्ण कार्य भएको जानकारी दिनुभयो। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोभिड–१९ र अन्य कारणले ढिलो सुरु भए पनि राष्ट्रिय खेलकुदले नेपाली खेलकुद क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने गरेको भनाइ राख्नुभयो।
यसैगरी राखेपका उपाध्यक्ष शिव कोइरालाले गण्डकी प्रदेश भौतिक संरचनाको हिसाबले देशकै केन्द्र हो भनेर नवौँ राष्ट्रिय खेलकुदले प्रमाणित गरेको बताउनुभयो। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले सदस्यसचिवको जिम्मेवारी लिएको ११ महिना भए पनि कार्य अवधिको कोणबाट सात महिनामा राष्ट्रिय खेलकुदको नवौँ संस्करण आयोजनाको अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो।