काठमाडौँ- सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मीले खेलको पहिलो सेट २५-११ ले जित्यो भने दोस्रो सेट २५-१० को जित निकाल्यो । त्यस्तै खेलको तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्यो । यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अङ्क जोडेको छ । पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो ।
त्यस्तै महिलातर्फको समूह ‘ए’ बाट साबिक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।
च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछन् भने उपविजेताले दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले एक लाख पाउनेछन् ।