काठमाडौं-भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धबाट नेपाली बजारमा नकरात्मक असार पर्न सक्ने भएकोले त्यसलाई रोक्न सचेत हुने निर्णय सरकारले गरेको छ ।
आइतवार प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको मूल्य चर्किन सक्ने र अभावसम्म सिर्जना हुनसक्ने निष्कर्ष निकालेको छ ।
बैठकले अनुगमन चुस्त बनाउन मातहतको मन्त्रालय र विभागलाई निर्देशन दिने निर्णय गरेको वाणिज्य तथा आपूर्ति सचिव मधु मरासिनीले बताए ।
बजारमा चामलको अभाव हुन नदिने र मूल्य बढाउन नदिन सरकारले वाणिज्य विभागमार्फत अनुगमन बढाउने पनि उनले बताए ।
भारतले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ४ साउनदेखि बासमती बाहेकको चामल निर्यातमा रोक लगाएपछि सरकारले आपूर्ति व्यवस्था बिथोलिनसक्ने निष्कर्ष निकालेको हो ।
भारतले चामलमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्रति बोरामै चामलको मूल्य २ सयदेखि २५० रुपैयाँसम्म बढिसकेको छ ।
चामलमा प्रतिबन्ध लागेपछि बजारमा मूल्य नियन्त्रण गर्ने, नियमित अनुगमन गर्ने र कालोबजारी हुन नदिने विषयमा सचेत भएर लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।