काठमाडौँ- भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली यू-२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू-२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ ।
नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलङ्कासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बङ्गलादेशसँग खेल्नेछ ।
त्यसपछि नेपालले एएफसी यू-२० एसिया कप छनोटमा कतार, बहराइन, बङ्गलादेश र भुटानसँगै राष्ट्रिय यू-२० सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बङ्गलादेशसँग खेल्नेछ ।
अन्तिम टोलीमा गोलकिपर ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, डिफेन्डर अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा रहेको छान् ।
यस्तै मिडफिल्डर दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान रहेका छन् । भने फरवार्ड दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेको छन् ।