काठमाडौँ- प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दै लिभरपुलले कारवाओ कपको उपाधि जितेको छ । लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।
रोमाञ्चक बनेको पेनाल्टी सुटआउटमा लिभरपुल ११-१० ले च्याम्पियन बनेको हो । चेल्सीका गोलकिपर केपाले अन्तिम पेनाल्टी मिस गरेपछि लिभरपुलले खेल जितेको थियो ।
यसअघि निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । योसँगै लिभरपुलले सबैभन्दा बढी ९ पटक कारवाओ कपको उपाधि जितेको छ ।
लिभरपुलपछि म्यानचेस्टर सिटीले ८ पटक यो उपाधि जितेको छ भने एस्टन भिल्ला, म्यानचेस्टर युनाइटेड र चेल्सीले यो उपाधि ५–५ पटक जितेका छन् ।