×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भेडापालनमा सरकारी प्रोत्साहन, 'गोठालो भत्ता'ले किसानको दैनिकी फेरियो

भेडापालनमा सरकारी प्रोत्साहन, 'गोठालो भत्ता'ले किसानको दैनिकी फेरियो

 

जुम्ला - कर्णाली प्रदेश सरकारले सुरु गरेको 'गोठालो भत्ता' कार्यक्रमले जुम्लाका भेडापालक किसानहरूमा नयाँ उत्साह थपेको छ। जिल्लाका आठवटै स्थानीय तहका २३० जना किसानले भेडापालन प्रवर्द्धनका लागि प्रोत्साहन रकम पाएपछि उनीहरूमा खुसियाली छाएको हो।

पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका अनुसार, यो कार्यक्रमले परम्परागत भेडापालन व्यवसायलाई थप व्यावसायिक र सम्मानित बनाउन टेवा पुर्‍याएको छ। सिंजा गाउँपालिका–६ का किसान भीमबहादुर रावतले यो वर्ष १८ हजार रुपैयाँ भत्ता पाएकोमा खुसी व्यक्त गरे। "मसँग १०० भन्दा बढी भेडा छन्," उनले भने, "यो पैसाले भेडालाई रोग लाग्दा उपचार गर्न र अन्य आवश्यक खर्च टार्न ठूलो सहयोग पुगेको छ।"

कसले पाउँछन् यो भत्ता?

प्रदेश सरकारको नीतिअनुसार ५० भन्दा बढी भेडा पाल्ने किसानहरू यो प्रोत्साहन भत्ताका लागि योग्य हुन्छन्। जुम्लामा हाल करिब १,७०० किसान भेडापालनमा संलग्न छन्, जहाँ ८८ हजारभन्दा बढी भेडा पालिएका छन्। जिल्लाभर ६९ हजार हेक्टर चरन क्षेत्र रहेको भए पनि किसानहरूले केही चुनौती औंल्याएका छन्।

तिला गाउँपालिकाका किसान रुञ्ज रावतका अनुसार, स्थानीय तहहरूले खर्क सुधार, चरन क्षेत्र विस्तार र आवश्यक भौतिक संरचना निर्माणमा ध्यान दिन सकेका छैनन्। "सरकारले भत्ता दिएर राम्रो गरेको छ, तर चरन क्षेत्रको अभावमा व्यवसाय टिकाउन गाह्रो छ," उनले चिन्ता व्यक्त गरे।

यो प्रोत्साहन कार्यक्रम जुम्लाबाहेक कर्णालीका विकट जिल्लाहरू कालिकोट, हुम्ला, मुगु र डोल्पामा पनि सञ्चालनमा रहेको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्