×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पिएम कप भलिबलः नेपाल पुलिस क्लबको महिला टोलीद्वारा उपाधिमा ह्याट्रिक

पिएम कप भलिबलः नेपाल पुलिस क्लबको महिला टोलीद्वारा उपाधिमा ह्याट्रिक

पोखरा - नेपाल पुलिस क्लबले पिएम कप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको छ। शनिबार पोखरा रंगशालाको कभर्ड हलमा भएको रोमाञ्चक फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले अपराजित रहँदै नवौं संस्करणको उपाधि जितेको हो। यो सँगै पुलिस लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ।

उत्कृष्ट लयमा रहेको पुलिसले खेलमा राम्रो सुरुवात गर्दै पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो। तर, दोस्रो सेटमा न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै २५-२२ ले जित निकाल्दा खेल १-१ को बराबरीमा पुग्यो। तेस्रो सेट निकै प्रतिस्पर्धात्मक रह्यो, जसमा पुलिसले २८-२६ को संघर्षपूर्ण जित दर्ता गर्‍यो। २-१ ले अगाडि बढेको पुलिसले चौथो तथा अन्तिम सेटमा २५-१४ को सहज जित निकाल्दै उपाधि पक्का गर्‍यो।


यसअघि लिग चरणको खेलमा पनि पुलिसले न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराएको थियो। पुलिस लिगको शीर्षस्थानमा रहँदै र न्यु डायमण्ड दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए।


महिलातर्फ एभरेष्ट तेस्रो, पुरुषतर्फ पुलिस तेस्रो
आजै सम्पन्न महिलातर्फको तेस्रो स्थानको लागि भएको खेलमा एभरेष्ट भलिबल क्लब विजयी भएको छ। एभरेष्टले नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा (२५-१८, १०-२५, २५-१३, २९-२७) हराउँदै तेस्रो स्थान हासिल गरेको हो। थाइल्याण्डका ३ व्यावसायिक खेलाडी सम्मिलित एभरेष्टले उत्कृष्ट प्रदर्शन गरेको थियो।


त्यस्तै, पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो।


प्रतियोगितामा महिला र पुरुष दुवैतर्फको विजेता टोलीले समान ८ लाख रुपैयाँ प्राप्त गरेका छन्। उपविजेता टोलीले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पाए। सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


महिलातर्फको विजेता पुलिस क्लब र उपविजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब नेपालमा आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन्। पुरुषतर्फको विजेता टोलीले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।


हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिकृया दिनुहोस्