काठमाडौँ- सत्ता गठबन्धनको आजको बैठक दिउँसो तीन घण्टा पर सरेको छ । यसअघि साढे ११ बजे तय भएको बैठक दिउँसो दुई बजेसम्मलाई सारिएको हो ।
गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । गठबन्धनका नेताहरु आ-आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
यसअघि सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी ९जसपा० नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको हो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।
उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र आज त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताएका छन् । धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढ्नुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले जानकारी दिएका छन् । सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।
सोमबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले काठमाडौँ, विराटनगर र ललितपुर महानगर लिने लगभग सहमति बनेको छ । उनका अनुसार बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ ।
पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णीत भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ । तर त्यहाँ कांग्रेसले पनि दाबी गरेपछि कुरा नमिलेको हो ।