×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

नेपाली बजारमा आयो ‘याक’इलेक्ट्रिक बाइक, यस्ता छन् विशेषता र उद्देश्य

नेपाली बजारमा आयो ‘याक’इलेक्ट्रिक बाइक, यस्ता छन् विशेषता र उद्देश्य

काठमाडौं -  अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ। 

कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइक नेपाल भित्र्याएको हो। अनेकौँ आकर्षक विशेषतासहितको यो बाइक नेपालमा सार्वजनिक गरिएको छ। 
अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्छ। यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने कम्पनीको विश्वास छ। यो जिम्मेवार उद्देश्य पूरा गर्न, यसले खनिज इन्धन, मुख्यतया पेट्रोलियम उत्पादनहरुको प्रयोग कम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ। 

यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधारअनुसार निर्माण र डिजाइन गरिएको छ। ‘हामी दाबी गर्छौं कि ‘याक बाइक्स’ को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरुका लागि रोजाइको महत्वपूर्ण कारक हुन सक्छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बाइक सार्वजनिक करण समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन्। उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरुप्रति आफ्नो चासो देखाएकी थिइन्। ‘प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन’, उनले भनिन्, ‘तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ। विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ। त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले  ‘याक बाइक्स’लाई नेपालमा भित्र्याउने निर्णय गरेको हो।’

कार्यक्रममा जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, ‘सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न  ‘याक बाइक्स’हरु यहाँ ल्याइएको हो। वातावरण मैत्री विद्युतीय सवारीहरुको प्रयोगले अहिले देखापरिरहेका समस्याहरुको समाधान प्रदान गर्दछन्। नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।’

बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारीसाधनको प्रयोगबाट कम गर्न सकिने कम्पनीको विश्वास छ। ‘आयातीत इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठूलो भूमिका खेल्न सक्छ। आयात घटाउने यही उद्देश्यले हामीले हाम्रो बाइक नेपालमा एसेम्बल गर्ने तयारीसमेत गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ।

‘याक’ बाइक नै किन ?

  • आर्थिक विकास लक्ष्यहरुलाई समर्थन गर्न,
  • पूर्ण विद्युतीय सवारीसाधन भएकाले, 
  • वातावरणमैत्री सवारी, 
  • नेपालमा नै एसेम्बल गरिने भएकोले, 
  • नेपाल सरकारको कानुन र नियमहरुअन्तर्गत पूर्ण रूपमा सञ्चालन हुने भएकाले, 
  • नेपालका सहरलाई हरित सहरमा परिणत गर्ने उद्देश्य पूरा गर्न, 
  • नेपाली ब्रान्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न।

यसबाहेक कम्पनीले ५०० भन्दा बढी न्यून आय भएका र बेरोजगारहरुका लागि रोजगारी सिर्जना गर्नेछ। यसले बेरोजगारीको समस्या कम गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ। 

कर्पोरेट सामाजिक उत्तरदायित्वहरुका लागि पनि आफूहरु प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। 

कम्पनीले काठमाण्डौ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्नेछ। जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्ने कम्पनीको दाबी छ। 

प्रतिकृया दिनुहोस्