काठमाडाैँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भंग गर्ने दिशामा लागेको बताएका छन् । ओलीपक्ष ‘भ्याके’टमा गएसँगै नेता नेपालले एकता भंग हुने दिशामा गएको बताएका हुन् ।
प्रधानमन्त्री केपी ओली पक्ष कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको निर्णयविरूद्ध ‘भ्याकेट’मा गएको थियो । ‘कर्णाली प्रदेशका सांसद एवं पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ,’ फेसबुकमा धारणा राख्दै नेपालले भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।’
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेर एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध ओली लागेको नेपालको भनाइ छ ।