काठमाडौं- नुवाकोटको ककनी गाउँपालिका-७ मा विद्युतको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका मान्छे झुण्डिएपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना सात घण्टादेखि पूर्णरुपमा बन्द भएको छ।
प्रहरीका अनुसार बिहान १० बजेदेखि बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक तारमा झुण्डिएका छन्। बिक मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादन बन्द हुँदा प्रतिघण्टा १० लाख रुपैयाँ प्राधिकरणलाई घाटा लागिरहेको बताए। ‘एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ’ उनले भने,’माथि तारमा कोही जान पनि नसक्ने र त्यो मान्छे तल पनि झर्दैन।
मान्छे देख्दादेख्दै लाइन छोड्ने कुरा भएन।’ अहिले झण्डै ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ। काठमाडौं आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रशारण लाइन यही हो। दुईवटा सर्किट रहेकामा एउटा मात्रै चालू अवस्थामा रहेकाले दुर्घटना हुन नपाएको उनको भनाइ छ।
कुलमालनका अनुसार ती मान्छे बन्द सर्किटमा चढेका छन्। चालूमा चढेको भए ठूलो दुर्घटना हुने उनले सुनाए। बन्दमा चढेकाले हल्लाखल्ला भएर चालू सर्किट बन्द गर्नु परेको उनले जानकारी दिए।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले ललाईफकाई गरेर तल झार्ने दिनभरको प्रयास असफल भएको बताए। ‘ललाईफकाई गरेर तल झार्नुबाहेक अरु कुनै विकल्प छैन, जति प्रयास गरे पनि तल झर्दैन’, रिसालले भने,’अरु कुनै उपायले तल झार्न सकिन्छ कि भनेर विद्युत प्राधिकरणसँग समन्वय गर्दा पनि कुनै उपाय भेटिएन।’
जिल्लाबाट थप टोली पठाएर तल झार्ने प्रयास गरिने उनले जानकारी दिए। नुवाकोट प्रहरीले ललाईफकाई गरेर तल झार्न खोज्दा पनि नझरेको जनाएको छ। स्थानीय र प्रहरीले उनलाई विद्युत् पोलबाट तल झर्न आग्रह गरे पनि उनी त्यहीँ बसिरहेका छन्।