धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ। आज बिहान ४ बजे ७ वटा गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो।
सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त नियमित गस्ती टोलीले गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको हो। काठसहित ३ जना पक्राउ परेको सव डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए।
पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर बस्ने ४० दीर्घ विक, ३८ वर्षीय रमेश विक र ३६ वर्षीय अर्जुन विक रहेका छन्। बाँकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए। बरामद काठ र गोरुगाडा सव डिभिजन वन कार्यालय बर्दगोरिया कम्पाउन्डमा राखिएको छ भने पक्राउ परेका ३ जनालाई आज नै थप कानुनी कारबाहीका लागि धनगढी चलान गरिएको छ। बाँकीको खोजी भइरहेको जनाइएको छ।