जापान - पुर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा जापानमा पनि व्यापक नेपालीहरुको सहभागितामा हस्ताक्षर अभियान गरिएको छ । लामिछानेलाई राज्यले प्रतिसोधका आधारमा जेलमा राखेको भन्दै उक्त प्रतिसोधका विरुद्धमा देश लगायत बिदेशवाट पनि हस्ताक्षर अभियान चलिरहेका बेला जापानमा पनि अभियान सुरु गरिएको हो ।
रास्वपा निकट प्रवासीहरुको सस्था प्रवासी नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिलेन्द्र प्र जोशीले दिएको जानकारी अनुसार हालसम्म जापान भरिबाट ८,७८९ हस्ताक्षर भएको छ । यसै विच सम्पर्क विभागले गत जुलाई २१ तारिख सोमबार भेटघाट तथा हस्ताक्षरमा ऐक्यबद्धता कार्यक्रम गरि हस्ताक्षर कार्यक्रमलाई निरन्तरता दिएको थियो ।
कार्यक्रममा उपस्थित भएका नेपालीहरुवाट ऐक्यबद्धता स्वरुप एकै दिनमा ८४६ जनाको हस्ताक्षर गरकाे जाेशीले जानकारी दिएका छन् । भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा उपस्थित नेपालीहरुलाई सम्बोधन गर्दै आयोजक संस्था प्रवासी नेपाली सम्पर्क विभाग जापानका प्रमुख जोशीले भने : "यो अभियान केवल हस्ताक्षर संकलनको लागि मात्र होइन।
यो अभियान एक जनताको पक्षमा राज्य संयन्त्रद्वारा गरिएको दमनको विरुद्ध एकजुटताको आवाज हो। यो अभियान हो जसमा जन्मदेखि नै एउटा व्यक्तिलाई असम्भव बनाउने नियतका साथ बञ्चित गरिएकालाई सम्भव बनाउने हिम्मतले जोडिएको छ।
सत्ता संरचनाबाट प्रतिशोध साँधिएको, जञ्जीरले बाँधिएको, न्यायबाट चुटिएको एउटा आवाजको समर्थन हो । राजनीतिक प्रतिशोधको विरुद्ध जनमतको घोषणा हो।राजनीतिक गुट, गठबन्धन, यन्त्र र षड्यन्त्रले बाँध्न खोजिएको आवाजलाई समर्थन गर्दै, जनताले उठाएको यो कलम एक ऐतिहासिक आन्दोलन बन्न थालेको छ। हामी यस आन्दोलनलाई निष्क्रिय विरोधमा होइन, संगठित शक्ति र विवेकपूर्ण निर्णयमा बदल्ने पक्षमा छौं।"