काठमाडौं - सुदुर पश्चिम तथा कर्णाली प्रदेशमा मनाइने महान पर्व गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइँदैछ । हिजो शुक्रबार साँझ गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन रही आएको छ ।
गौराको अवसरमा ब्रतालु महिलाहरुले बिरुडा(विभिन्न पाँच थरीका अन्न) ले दिनभरी फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रद्वारा पवित्र पारिएको धागो) आजै महिलाहरुले धारण गर्ने गर्ने गरेको संस्कृतिका जानकार भोजराज अवस्थीले बताउनुभयो।
तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिम प्रदेशमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । आज दुर्वाष्टमीको दिन गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ ।
सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ । गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरिएको सिगास गाउँपालिका वडा नं. ४ की रामा धामीले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो आजको दिन “ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् ।”
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ ।
दूर्वाष्टमी के हो ?
दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ। दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दूर्वाष्टमी पर्व मनाइन्छ।
अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको संस्कृतिका जानकार भोजराज अवस्थीको भनाइ छ । अष्टमी तिथि भर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ। यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थमा उल्लेख गरिएको छ उहाँको भनाइ छ ।