काठमाडौं - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले स्वास्थ्य समस्या र उपचारको आवश्यकता देखाउँदै केही समयका लागि पार्टी अध्यक्षको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।
आफ्नो अनुपस्थितिमा पार्टीको नियमित कामकारबाही नरोकियोस् भन्दै उनले पार्टीका गण्डकी प्रदेशका वरिष्ठ नेता शिव वास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी छन्।
श्रेष्ठले जारी गरेको पत्रमा भनिएको छ, ‘मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि अस्वस्थ रहेको र हालको अवस्थाका कारण पार्टीको गतिविधिमा पूर्ण रूपमा संलग्न हुन असमर्थ रहेकाले पार्टीको विधान २०७८ को धारा १० को उपधारा १ बमोजिम शिव वास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको छु।’
पार्टीको नियमित कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनले कार्यवाहक अध्यक्ष तोकेको जनाएकी हुन्।
‘पार्टीको संगठन निर्माण तथा पार्टी गतिविधिलाई सफलतापूर्वक अगाडि बढाउनु हुनेछ भन्नेमा म विश्वस्त छु,’ पत्रमा उल्लेख छ।
श्रेष्ठको अनुपस्थितिमा पार्टीको सम्पूर्ण अधिकार, निर्णय प्रक्रिया र संगठनात्मक संयोजनको जिम्मा अब वास्तोलाले निर्वाह गर्नेछन्। स्वास्थ्यमा सुधार भएपछि आफू पुनः जिम्मेवारीमा फर्कने पनि उनले बताएकी छन्।
यहाँ स्मरणीय छ, पोखराको लिचीघारी जग्गा हिनामिनाका लागि घुस लेनदेन भएको प्रकरणमा अध्यक्ष रञ्जिता श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।