काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान)ले बैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, मलेशिया र नेदरल्याण्ड्स सम्मिलित ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय ट्राइ सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
तिब्र गतिका बलर सोमपाल कामी र ओपनर आशिफ शेखले नेपालको लागि पुनरागमन गर्ने अवसर पाएका छन् भने शाहब आलमले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
ढाँडको समस्याका कारण सोमपाल नेपालमा डिसेम्बर, २०१९ मा भएको दक्षिण एसियाली खेलकुददेखि नै टिममा छैनन् भने यस क्रममा उनले आईसिसि क्रिकेट बिश्वकप लिग टु र थाइल्याण्डको क्वाफिायर पनि परेका थिएनन ।
त्यस्तै आसिफले करिब चार बर्ष पछि टोलीमा स्थान बनाउन सफल भएका छन् । उनले पछिल्लो पटक नेपालको लागि सन् २०१७ मा बंगलादेशमा आयोजना भएको इमर्जिङ टिम्स कपमा खेलेका थिए ।
आगामी शनिबारबाट सुरु हुने शृंखलाको उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । समुह चरणमा सबै टोलीले एक अर्कासँग २-२ खेल खेल्ने छन् र शिर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि बैशाख ११ मा भिड्ने छन् ।
नेपाली टोली :- ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), पारस खड्का, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, शाहब आलम, कमल सिंह ऐरी, कुशल मल्ल, शुसन भारी, कुशल भुर्तेल